यायोक्खाको जिल्ला अध्यक्षमा हात्तीराम

  सुमेरु संबाददाता

खोटाङ, बैशाख २५

किरात राई यायोक्खा खोटाङको अध्यक्षमा हात्तीराम राई निर्वाचित भएका छन् । ‘सह–अस्तित्व र जातीय सद्भाव सहितको राष्ट्रिय एकता हाम्रो अभियान, १ नम्बर प्रदेश किरात प्रदेश इतिहास सभ्यताको पहिचान’ भन्ने नारासहित बुधबार सम्पन्न आठौं जिल्ला सम्मेलनबाट राई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

२५ सदस्यीय यायोक्खाको उपाध्यक्षमा शुभलक्ष्मी राई र सञ्जयकुमार राई, सचिवमा युगसन किरात, सह–सचिवमा मिलनचन्द्र राई, सिताराम राई र सिता थुलुङ, कोषाध्यक्षमा खड्गबहादुर राई र सह–कोषाध्यक्षमा गोपाल राई चुनिएका छन् । जिल्लाका स्थानीय तह, भाषिक संगठन र भातृ संगठन लगायतलाई समेटेर यायोक्खाको नयाँ कार्य समिति निर्माण गरिएको नवनिर्वाचित अध्यक्ष राईले बताए । बुधबार साँझ सगरमाथा होटलमा पत्रकार सम्मेलन गरेर यायोक्खाले निर्वाचित पदाधिकारीको नामावली सार्वजनिक गरेको हो ।

नवनिर्वाचित समितिलाई पत्रकार सम्मेलनकाक्रममा किरात राई बिद्यार्थी संघले खादा ओढाएर बधाई दिएको छ । संघले किरात राईको भाषा, संस्कार र संस्कृतिको संरक्षण र संवद्र्धनका अलवा प्रदेशको किरात प्रदेश नामाकरणमा दवावमुलक कार्यक्रम गर्ने अध्यक्ष राईले बताए । सम्मेलन शुभम फाउण्डेसनको सभाहलमा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले मंगलबार उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार