आत्मनिर्भर बनाउन तालिम

  सुमेरु संबाददाता

सोलुखुम्बु, बैशाख २५

जिल्लाको नेचासल्यान गाउँपालिकामा महिलाहरुलाई आयआर्जनको माध्यमबाट आत्मनिर्भर बनाउनका लागि सीपमूलक तालिम संचालन गरिएको छ । गत बैशाख ११ गतेबाट जारी तिन महिने खाडी कपडा बुनाई तालिमका सहभागीले व्यवसायीक रुपमा लाग्न सहयोग पु¥याउने बताएका छन् ।

नेचाकी आशा राईले जीवनयापनका लागि उपलब्धिमूलक बन्ने बताईन् । ‘तालिम पछि सिकाईलाई व्यवहारिक बनाउने मन छ ।’ आशाले भनिन्, ‘सिकेका कुरालाई व्यवहारिक बनाउने कोशिस गर्नेछौ । अहिले तालिम पनि निकै सक्रिय रुपमा सिकिरहेका छौ ।’ अरुको बारेमा केहि भन्न नसकेपनि आफू भने जीविकोपार्जनका लागि खाडीको कपडा बुनाइ सीपलाई अघि बढाउने उनको भनाई छ ।

सोलुदुधकुण्ड नगरपालिका ८ केरुङका एसिका श्रेष्ठ पनि तिन महिने तालिममा सहभागी बनेकी छिन् । ‘खाडीको कपडा बुनाई तालिम पहिले पनि लिएको थिए । यो तालिमले पहिले आर्जित सीपमा अझ मजबुत बनाउने आशा लिएको छु ।’ श्रेष्ठले भनिन्, ‘खाडी कपडा बुनाई तालिमले उद्यमी बनाउनका सहयोग पुग्नेछ ।’ वास्तविक उद्यमीलाई छनौट गरि सीपलाई पुर्नताजकी गर्न बेलाबेलामा तालिमको व्यवस्था गर्न माग गरे ।

घरेलु तथा साना उद्योग विकास समितिको आयोजना, नेचासल्यान गाउँपालिकाको सह–आयोजना तथा थुलुङ (राई) सामाको स्थानीय सहयोगमा जारी तालिमका सहभागीले चाख दिएर बुनाई सीप सिकिरहेको सहजकर्ता कृष्ण प्रसाद नअर्कीले बताए । ‘आधुनिक मेसिनको प्रयोग गरि सीप सिकाउने काम भईरहेको छ ।’ नअर्कीले भने, ‘हात बसेपछि एक जनाले हरेक हरेक घण्टा ३ मिटरसम्म खाडीको कपडा बुन्न सक्छन् ।’

नेचासल्यान गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलाले महिला दिदीबहिनीको क्षमता अभिबृद्धि गर्नका लागि तामिले भूमिका खेल्ने बताए । आयआर्जनको माध्यमबाट महिलालाई आत्मनिर्भर बनाउने द्येयका साथ तालिम संचालन गरिएकाले उत्पादित खाडीको कपडा बजारीकरण गाउँपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘उद्यमीले बुनेका खाडीको कपडाको बजारीकरणमा चिन्ता लिनुपर्दैन् । उद्यमीले उचित मुल्य पाउने गरि किन्छ अनि बेच्छ ।’ उनले गाउँपालिकाले सीप विकास लागि हाउस वायरिङ, कम्प्यूटर, मोबाईल मर्मत, सिलाईकटाई लगायतका आधादर्जन तालिम संचालन गरेकोले सीप आयआर्जनका लागि प्रयोगमा ल्याउन आग्रह गरे ।

तालिमको स्थानीय व्यवस्थापनको जिम्मा लिएको थुलुङ (राई) सामाका अध्यक्ष तेज बहादुर राई ‘शुभ’ले सीपमूलक तालिमको व्यवस्थापन गर्न पाएकोमा खुसी व्यक्त गरे । तालिमबाट सिकेका सीप व्यवहारिक बनाउन सके आयआर्जनका लागि भौतारिनुपर्ने अवस्था नआउने उनले बताए ।

तालिममा सोलुदुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाको एक÷एक जना, नेचासल्यान गाउँपालिकाको २३ जना महिला सहभागी बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार