शैक्षिक सुधारका लागि विद्यालय मर्ज, घटुवा र शिक्षक सरुवा

सोलुखुम्बु, बैशाख २६

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले शैक्षिक सुधारका लागि ५ विद्यालयको कक्षा घटुवा गरेको छ भने एक विद्यालयलाई मर्ज गरेको छ । बुधबार बसेको कार्यपालिका वैठकले वडा नं १ नेलेको आहालेमा संचालित हिमालचुली आधारभूत विद्यालयलाई नेलेको घुर्मिसेमा संचालित बुद्ध आधारभूत विद्यालयमा गाभ्ने निर्णय गरिएको छ ।

जुबु काहुले स्थित जनज्योति आधारभूत विद्यालय र मुक्लि मैदेल स्थित चित्रगुप्ता आधारभूत विद्यालय कक्षा घटुवामा परेका छन् । ती विद्यालयमा प्रारम्भिक बाल विकास कक्षा रहने गरि अन्य कक्षा लाई जुबुको सुर्योदय आधारभूत विद्यालय र मैदेलको त्रिभुवन विद्योदय आधारभूत विद्यालयमा गाभ्ने निर्णय गरिएको छ । जनज्योति र चित्रगुप्ता आविमा कक्षा ३ सम्म पढाई हुदै आएको थियो ।

कक्षा ५ संचालन गरिरहेको देउसाको सरस्वति आवि, लोखिम लिखेपको जनप्रिय आवि र लोखिमकै पन्चकन्या आविको कक्षा ४ र ५ हटाउने र कक्षा ३ सम्म पढाई हुने व्यवस्था मिलाईएको छ । ती विद्यालयका कक्षाहरुलाई दुधकौशिका आवि रणेम, जनसेवा मावि लोखिम र जनता मावि लोखिममा गाभ्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए ।

शैक्षिक सुधारका लागि झण्डै दुई दशक देखि सरुवा नभएका ६४ जना शिक्षकलाई सरुवा गरिएको छ भने ३ शिक्षकलाई काज सरुवा गरिएको छ । लामो समय एउटै विद्यालयमा रहेका शिक्षकलाई चलायमान गराउदा पनि शिक्षण क्रियाकलापमा सुधार आउने भएकाले शिक्षक सरुवा गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यपालिका वैठकले प्रध्यानाध्यापक नियुक्तीका लागि आगामी जेठ २२ गते परिक्षा संचालन गर्ने निर्णय समेत गरेको छ । त्यसका लागि योग्यता पुगेका ईच्छुक शिक्षकले जेठ १० गतेसम्म आवेदन दिन सक्नेछन् । ५० अंक लिखित, २५ अंक अन्तरवार्ता र २५ अंकको विद्यालय सुधार योजनाको प्रस्तावको आधारमा सक्षम व्यक्तिलाई प्रध्यानाध्यापकको जिम्मा दिने गाउँपालिकाको तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार